भौगोलिक अबस्था

श्रीखंडपुर को भौगोलिक अबस्था

धुलिखेल नगरपालिका वडा न ५ अन्तर्गत होचो थुम्कोमा रहेको प्राचीन शहर श्रीखण्डपुर ६ डिग्री पुर्व देशान्तर र २८ डेग्री उत्तरी अक्षांश पर्दछ । यसको बगलमा प्रसिद्ध पुण्यमती नदि बगिरहेको छ ।यसको दक्षिण तर्फ पौराणिक शहर "पलाती" पर्दछ । पलाती एक प्रख्यात तिर्थस्थलको रुपमा चिनिन्छ । यहा बाहवर्षे मकर मेला लाग्दछ ।यसको दक्षिण पट्टी चकोर ऋषिले तपस्या गरेको स्थान `चकोर´ चौकोट छ । यो शहरको उत्तर तर्फ 'भुजुङ्ग ' देश बनेपा पर्दछ ।बनेपा पुर्वको व्यापरिक केन्द्रको रुपमा चिनिन्छ ।यसका साथै तिर्थ स्थल को रुपमा चिनिने गोसाइँथान र बनेपाको ११ न. वडा पर्ने बुडोल पनि श्रीखण्डपुरको उत्तर तर्फ नै पर्छ ।यसको पुर्व तर्फ पर्यटकिय क्षेत्रको रुपमा प्रख्यात धुलिखेल पर्दछ ।श्रीखण्डपुरको पश्चिम पट्टी छलेश्वर वन महाकाल देवि पर्छ । यो ठाउँ वनभोज गर्न रमणिय छ । यहाँ को महाकाल देवि प्राकितिक छ ।प्रख्यात धार्मिक स्थलको रुपमा चिनिने धनेश्वोर महादेव यहि पर्दछ ।

श्रीखण्डपुरको हावापानी धेरै जाडो र धेरै गर्मी छैन ।यो शहर बसोबास गर्न निकै उपयुक्त छ । यो स्वच्छ हावापानी एव सुन्दर शान्त वातावरण भएको सहर हो । यस शहरको चार दिशा मा चार ढोका छन । पुर्व वहाटोलको चिवालवाट धुलिखेल जाने बाटो पर्छ । जसलाइ पुर्वको ढोका भनिन्छ । पश्चिम वसाहटोलको खुट्चा हुँदै पुण्यमती खोला पारी धनेश्वर जाने बाटो पर्छ । जसलाइ पश्चिम ढोका भनिन्छ ।यहि बाटो बाट पनौती , धनेश्वर , बनेपा आदि ठाउँमा जान सकिन्छ ।यहाँ विभिन्न पोखरीहरु छ्न। उत्तर भैरव मन्दिर्न्भै बुडोल जाने बाटो पर्छ ।जसलाई उत्तर ढोका भनिन्छ । दक्षिण लासाकोटोल पुस्तकालायबाट चौकोट जाने बाटो पर्छ । जसलाई दक्षिण ढोका भनिन्छ । यसरी चार ढोका चारतिर जाने बाटो भएको एउटै ढुङ्गा मा अडेको शहर हो ।

यसको पश्चिममा पुन्यमाता खोला बगिरहेको छ ।श्रीखण्डपुर को पश्चिम छलेस्वर वनमा महाकाली देवि रहेको छ। यसको पुर्व तर्फ त:पुखु नामको पोखरी छ । यसको दक्षिण तर्फ महादेव पोखरी नामाकरण भएको पोखरी छ । जसलाई पर्खालले घेरी पोखरिको बिचमा महादेवको मुर्ति राखिएको छ। यसको उत्तर तर्फ सरस्वती 'पुखु' पोखरी छ । यस पोखरिको पुर्व तर्फ सरस्वती देविको मन्दिर छ । यसरी यस शहरमा व्यव्स्थित तवरले ठाँउठाँउमा पोखरिको निर्माण गरिदिएर भविष्य आइपर्ने सम्भावनालाई उतिबेला नै ध्यान दिएको देखिन्छ ।

श्रीखण्डपुर एउटा सानो शहर भए पनि बस्तिहरुको बिचमा भएको हुदा पहिले देखिने एक किसिमको व्यापारिक केन्द्र जस्तै बनेको छ । श्रीखण्डपुर नेवार जातिको बसोबास भएको शहर हो । यश शहर पुर्व १ न को पुर्वी ढोकाको रुपमा चिन्निछ । हाल बस्तिको विकास भै पुल पारी र यसको साविक शहर बाहिर वस्ती बसेको छ । पहिले श्रेष्ठ , प्रधान, कर्माचार्य , सुवाल, रन्जित्कार,मानन्धर,प्रधानाङ्ग,धुजु,महाजु,गुभाजु,प्रजापती,नापित,शाहि,जुगिजु,पुटुवार,राजभारत,आदि नेवार जातिहरु मात्र भएको यस शहरमा हाल अन्य जातिका मानिसहरु पनि बस्न थालेको छन ।


श्रीखण्डपुरमा वहाटोल नाष्टोल भुखा टोल चाफ टोल वसाटोल लासाकोटोल आदि टोलहरु प्राचीन काल देखि नै नामाकरण भएका टोलहरु पनि छ्न ।हाल शाहि टोल, मानन्धर टोल , नया वस्ती, मगर टोल हरु पनि छ्न। यहाका टोलहरु सम्वन्धित प्रचलित क्व्हि किवन्दन्तिहरु यश प्रकार छन ।

वहाटोल:-

श्रीखण्डपुरको पुर्व पट्टिको टोललाइ वहा टोल भनिन्छ । यहाँ वहाँ (लायकु दरबार ) छ । यश दरबारको स्थान भएकोले यश टोललाइ हाल वहाटोल भनी नामाकरण गरिएको कथन छ । नाष्टोल (नासटोल ): यहाँ नासद्यो (नास देवता) रहेको छ । नासद्यो (नाथ देवता) रहेको स्थान बाट यश टोलको नाम नासटोल (नाथटोल) रहेको भन्ने कथन छ ।

श्री गुरु नित्यनाथ (नसिकास्थान)
गुरु नित्यनाथको स्थापना ने.स ८७९ साल चैत्र शुल्क अष्टमिको दिन जगन्नाथ गुभाजु बाट नित्री पुजा गरि गरिएको थियो ।यस मन्दिरको मर्मत ने.स १११७ मा गरिएको थियो । त्यसको उपलक्ष्यमा पौष शुक्ल पक्ष माघ ३ गते गुरुवार अष्टमी आश्विनी नछेत्र दिन सिद्विजोग बालकर्ण लाम बेलामा नासटोलमा देवविलास गुभाजु बाट परिस्ता पुजा गरिएको थियो ।

भुखाटोल:-

'भु' भनेको जमिन 'खा' भनेको चलेको अथवा भूइंचालो हो। भुइचालो गएको समयमा पनि यहाँ का घरहरु केहि भएको थिएन।।त्यस बखतमा नेपालमा धेरै क्षती भएको थियो । भुइचालो गएको समयमा पनि केही नभएकोले यश स्थानको नाम भुखा तब (भुखाटोल) रहने गएको भन्ने कथन छ ।

वसाटोल :-
बसाटोल भनि किन नाम रहन गयो भन्ने एउटा रोचक घटना छ। नेवार राजा (नेवाजुजु) हरुको पालामा सोह्र सराध्यको वेला एउटा परिवारको सराध्री गरिराखेको वेला पुरोहितले तपाईं हरु को थर के हो? भनी सोध्दा जजमानले हाम्रो थर चाट्ने पाट्ने राजा काट्ने भनेको रहेछ।त्यसैबेला राजा को सि आइ डि सिपाइ त्यही ठाउँ मा पुगेछ।त्यो सुनेर सिपाही छ्क्क परि दरवार गएछ ।पछि त्यो सिपाही हरु जम्मा भएपछी राजाले सबै सङ्ग सोधनी भएछ।आजको समाचार के के छ भन्दा आफुहरुले देखेका र सुनेका कुरा सबै जाहेर गरेछ आफ्ना पालो आएपछि उसले सुनेका कुराहरु राजालाई जाहेर गरेछ। राज छक्क परि भन भन के भनेछ भनि हुकुम भएछ । त्यो सिपाइँले आफुले सुनेको कुरा दोहोऱ्याई फेरि भनेछ सरकार चाट्ने पाट्ने राजा काट्ने भनेको थियो स र कार भनि बिन्ति चढाए छ , त्यसो भए भोलि विहान तिनीहरुको खलकहरुलाई ( हाकुगु) डाँडा कटाई पठाउनु र उनीहरुको श्री सम्पत्ति जफत गुर्न भनि हुकुम भएछ। हुकुम मुताबिक भोलीपल्ट उनीहरुको दाजुभाइ काठमाण्डौं र ललितपुर बस्ने सबैलाई लखेटिएको भनिन्छ । त्यस वखत कहाँ जाउँ कहाँ बसौँ भनि आउँदा आउँदै श्रीखण्डपुरमा पुगेछ । साँझपख भएको हुनाले पुण्यमाताको छेऊको एउटा डाँडामा बसेछ । दशैंको बेला भएकोले अब धरै - टाढा नजाउँ यसै ठाउँमा बसौं भनि एक दुइ जना सहरवासीहरुसँग सोधेपछि हुन्छ बस ठाउँ पनि राम्रो छ, पानीको पनि राम्रो व्यवस्था छ, यहाँ मानिसहरु पनि सबै नेवार जातीहरु छन् राम्रो हुन्छ भनि छाप्रो बनाई सबैजना बसेछ दशैंको बेला जमरा राख्ने दिन आयो आफुहरुलाई के चीज कहाँ पाउँछ भन्ने थाहा नपाउँदा पुण्यमाताको बालुवा ल्याई त्यसैका जउ छरी आफुसँग जे छ त्यसमा जमरा राखी पुजा गरि राखेछ । नवमीको दिन स्याकोत्याको गर्न लाई आफुहरु सँग केही नभएको हुनाले पुजा मात्र गरी भोलिपल्ट जमरालाई सवै दाजुभाइ हरुलाई वाँडेछ । त्यसैकारण आज स म्म पनि ती खलकहरुको उखुको बोट, अदुवाको बोट, मुलाको बोट, कुभिन्दो (थापिंचा), जाँडको पैंटो (मोहनी फयगु माटोका सानो सलिंचामा तेल बत्ती हाली अरुको तीनवटा सलींचा मा घोपट्याई एउटा सलींचामा वत्तीको ज्वाला लाई छोपी मोहनी फयगु) कालो धुवाँ जम्मा गरी राख्ने र भोलिपल्ट दशैंको दिन टीका लगाईदिने (तोरण) रातो सेतो कपडाको माला लगाईदिने चलन पनि आजसम्म पनि छ । धेरैजसो बसाईं आएर वसेको हुनाले त्यो टोललाई बसाहा टोल भन्ने चलन चलि आएको हो ।

चाफटोल:-
यस टोलमा चाफ (पाटि ) रहेको र यश पाटिको नामबाट यश टोलको नाम चाफ रहेको भनिन्छ ।

लासाकोटोल :-
सोह्रखुट्टे पाटीसङ्गै चारदोबाटो छ । त्यस ठाउँमा बिस्का जात्रामा राती लसकुस गरिन्छ । यश लसकुस गर्ने ठाँउ देलाश मुनिको बसोबास भएको ठाउँलाई लासाकोटोल भनिन्छ । लसकुसको शब्दबाट नै यश टोलको नाम लासाकोटोल नामाकरण गरिएको अनुमान लगाउन सकिन्छ ।

याकाक्षे टोल:-
यो टोल मा एउटा मात्र घर भएको भएर नेवारी मा याकाक्षे भनी नामाकरण भएको र पछि याकाक्षे टोल नामकरण भएको कथन छ।